युक्रेनलाई शक्तिशाली हतियार सहयोग गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा
अमेरिका । अमेरिकाको राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली बनाउन सहयोग गर्ने घोषणा गरेका छन् । वासिङ्टन डिसीमा भएको अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोको बैठकलाई सम्बोधन गर्दै उनले युक्रेनलाई हतियार र दर्जनौं वायु रक्षा प्रणाली उपलब्ध गराउने घोषणा गरेका हुन् ।
उनले अमेरिका र अन्य चार पश्चिमी देशले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली चाँडै उपलब्ध गराउने बताए ।
अमेरिकी अधिकारीहरूले यस प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली, अन्य रणनीतिक वायु रक्षा प्रणाली र यसका भागहरू समावेश हुने बताए ।
अमेरिकाबाहेक जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटालीले हवाई प्रतिरक्षा प्रणाली आपूर्ति गर्ने जनाइएको छ ।
यस वर्षको अन्त्यसम्ममा हवाई प्रतिरक्षा प्रणालीका विषयमा थप निर्णय लिइने र यसमा बेलायत, क्यानडा, नर्वे र स्पेन समावेश हुनेछन् ।
रुसको पछिल्लो मिसाइल आक्रमणपछि युक्रेनी अधिकारीहरूले मंगलबार थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन अपील गरेका छन् ।
नेटो सम्मेलनमा सम्बोधनका क्रममा सबैजसो देशका नेताहरुले रुसलाई रोक्न नसकेमा युक्रेन मात्रै नभएर पुरै पश्चिमा देशको लागि खतरा नजिकै आइरहेको बताए ।