एकीकृत समाजवादीको महाधिवेशनः आज बन्दसत्र

तु खबर संवाददाता
२०८१ असार १७, सोमबार ०९:३२

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत आजबाट बन्दसत्र सुरु हुँदैछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ ।

सो बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ । दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने जनाइएको छ ।

असार २० गतेसम्म चल्ने महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिहरु रहेका छन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् ।

साथै महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था पनि गरिएको छ ।

महाधिवेशनको आइतबार प्रज्ञा प्रतिष्ठानमा उद्घाटन भएको थियो ।