नेपाली भाषा शिक्षक समिति हेटौंडाको आयोजनामा एक दिने कार्यशाला
मकवानपुर । नेपाली भाषा शिक्षक समिति नगर कार्यसमिति हेटौंडाले नगरभित्रका ४५ वटा नीजि तथा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरुलाई व्याकरण तथा विद्यागत शिक्षण सम्बन्धि एकदिने कार्यशाला सञ्चालन गरेको छ ।
हेटौंडा–४ स्थित नवोदय शिशु सदनको सभाहलमा शुक्रबार आयोजित कार्यशालामा प्रशिक्षकहरु क्रमशः ध्रुव भुजेलले व्याकरणसम्बन्धि र केशव सञ्जेलले विद्यागत शिक्षणसम्बन्धि सहजिकरण गरेका थिए ।
नेपाली भाषा शिक्षक समिति नगर कार्यसमितिका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यशालामा सहभागी शिक्षक शिक्षिकाहरुले व्याकरण र विद्यागत शिक्षणसम्बन्धि अन्यौलता हटेको भन्दै अवसरका लागि आयोजकलाई धन्यवाद दिए ।
व्याकरण र विद्यागत शिक्षणबारे प्रष्ट भएको र यसले शिक्षण सिकाईमा आफुहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहभागीहरुले आगामी दिनहरुमा पनि यसप्रकारको कार्यशाला आयोजना गर्न सुझाव दिए ।
नेपाली भाषा शिक्षकलाई अन्यौलताबाट हटाउने र आफ्नो भाषामा निपूर्ण बनाउँदै उनीहरुलाई कक्षा शिक्षणमा नयाँपन दिँदै शिक्षण सिकाईलाई थप रुचीपूर्ण बनाउन आगामी दिनमा पनि यसप्रकारको कार्यशाला आयोजना गरिने समितिका सचिव सिएम रिमालले जानकारी दिए ।
