बकैयामा साइलेज उत्पादन सुरु
मकवानपुर । जिल्लाको बकैया गाउँपालिकाले साइलेज तथा दाना उत्पादन सुरु गरेको छ ।
बकैया–७ हात्तीखोलामा उद्योग स्थापना गरी साइलेज तथा दाना उत्पादन सुरु गरिएको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिए ।
सहुलियत दरमा कृषकलाई पशु आहारा उपलब्ध गराउने उद्देश्यले साइलेज तथा दाना उद्योग स्थापना गरी उत्पादन सुरु गरेको अध्यक्ष लामिछानेले बताए ।
उनका अनुसार राष्ट्रिय योगना आयोगको ५० लाख रुपैयाँ सहयोगमा निर्माण गरिएको उद्योगमा पालिकाले करिब ५ करोड रुपैयाँ खर्चिएको छ ।
साथै उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारबाट पनि उपकरण र केही आर्थिक सहयोग प्राप्त भएको उनको भनाई छ ।
सुख्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त हुने भएकाले पशुपालक किसानको समस्यालाई बुझेर उक्त उद्योग संचालनमा ल्याइएको अध्यक्ष लामिछानेले बताए ।
पालिकाका कृषि अधिकृत सचित रिजालका अनुसार किसानलाई पीठो तथा चोकरको मूल्य महँगो पर्ने र साइलेजमा उत्पादन लागत कम पर्ने भएकाले उत्पादन थालिएको हो । बोटैसहितको दूधिलो मकै कृषकसँग खरिद गरेर ल्याएर साइलेज उत्पादन गरी स्थानीय कृषकलाई नै सहुलियत दरमा विक्रि गरिने उनले बताए ।
पहिलो चरणमा पालिकाभित्रका कृषकलाई पुग्ने गरी साइलेज तथा दाना उत्पादन गरिने भन्दै उनले विस्तारै अन्य पालिकामा समेत निर्यात गर्ने गरी उत्पादन बढाउने तयारी रहेको जानकारी दिए ।
उद्योग सञ्चालनमा आएसँगै प्रत्यक्ष रुपमा ३० जनाले रोजगारी प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।