हेटौंडा उपमहानगरपालिकालाई अवहेलना मुद्धामा जवाफ दिन उच्च अदालतको आदेश

तु खबर संवाददाता
२०८१ जेष्ठ २४, बिहीबार १९:४५

मकवानपुर । उच्च अदालत पाटन हेटौंडा इजलासले हेटौंडा उपमहानरपालिका वडा नम्वर– १० टिसिएन रोड क्षेत्रमा सडकको दायाँबायाँ फलामे बार निर्माण कार्य रोक्नका लागि जेठ १८ गते दिएको अप्लकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीस यमुना भट्टराई र मिना गौतम सेडाईँको संयुक्त इजलासले जेठ १८ गतेको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरेको हो ।

त्यस्तै विहिबार न्यायाधीस यमुना भट्टराई र सानु मैया डंगोलको संयुक्त इजलासले अदालतको अवहेलना सम्बन्धि मुद्धामा वडा कार्यालयसँग निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? भनी जवाफ माग गरेको छ ।

कारबाही नगर्नुपर्ने भए त्यसको कारण र आधार तथा प्रमाण राखी ७ दिनभित्र जवाफ पेस गर्न भनिएको छ ।

अदालतले उक्त क्षेत्रमा निवदेकहरुको जग्गा तथा घरमा प्रवेश गर्न असर पर्ने गरी फलामको पोल, फलामको रेलिङ्ग लगाउने कार्य नगर्न नगराउन जेठ १८ गते आदेश गरेको थियो ।

अदालतको आदेशको अवहेलना गर्दै वडा कार्यालयले प्रहरी परिचालन गरी निर्माण कार्यलाई निरन्तरता दिएपछि स्थानीय दुई दर्जनभन्दा बढी घरधनीहरुले केही दिन अघि संयुक्त रुपमा पत्रकार सम्मेलन गरी निर्माण कार्य रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।