दलित समूदायका महिलालाई साबुन/सर्फ बनाउने तालिम
मकवानपुर । मनहरी गाउँपालिकाका दलित समुदायका महिलाहरुलाई आयआर्जनतर्फ अभिप्रेरित गर्न ७ दिने साबुन तथा सर्फ बनाउने तालिम सञ्चालन गरिएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष मगरले दलित महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताइन् । समाजमा पिछडिएका दलित महिलाहरुलाई गाउँपालिकाले सिपमुलक तालिम दिएर सामाजिक र व्यवसायिक दुबै हिसाबले सफल बनाउने लक्ष्य लिएको उनको भनाई छ ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले सबै सहभागीहरुलाई शुभकामना दिए । तालिम पश्चात व्यवसायिक रुपमा अघि बढ्न पनि उनले सहभागीहरुलाई आग्रह गरे ।
कार्यक्रममा ५ नं वडाअध्यक्ष दीपेन्द्र अधिकारी , ६ नं वडासदस्य राममाया नगरकोटी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ९ वटा वडाहरुबाट ४५ जना दलित महिलाहरुको सहभागिता थियो ।
