अमेरिकामा आँधीका कारण २३ जनाको मृत्यु

न्यूयोर्क । अमेरिकामा आएको आँधीका कारण २३ जनाको मृत्यु भएको छ । टेक्सास, ओक्लाहोमा, अर्कान्सास, केन्टकी र अलाबामालगायत क्षेत्रका ४ बालबालिकासहित २३ जनाको मृत्यु भएको हो ।
खराब मौसम र आँधीका कारण टेक्सासको कुक काउन्टीको भ्याली भ्यू शहरमा मात्रै ७ जना, केन्टकीमा ५ जना र अर्कान्सासका उत्तरपश्चिमी भागहरुमा ८ जनाको मृत्यु भएको अमेरिकास्थित सञ्चारमाध्ययमहरुले जनाएका छन् ।
आँधीले ७० माइल प्रति घण्टाको हावा र ठूलो असिना ल्याउँदा मेमोरियल डे सप्ताहन्तमा बिजुली कटौती भएको छ भने लाखौँले खतराको सामना गरिरहेका छन् ।
अमेरिकी सरकारले टोर्नाडोबाट भएको क्षतिको सर्वेक्षण गर्न राष्ट्रिय मौसम सेवाको टोली पठाइएको छ । अधिकाँश घरको छाना उडाएको छ भने रुखहरु पनि ढलेका छन् । राष्ट्रिय मौसम सेवाका सर्वेक्षण टोलीहरुले उत्तरपूर्वी ओक्लाहोमाको क्लेरेमोरमा गम्भीर क्षति फेला पारेका थिए ।
न्यूयोर्क, पेन्सिलभेनिया र न्यू जर्सीका क्षेत्रहरुमा बेलुका ९ बजेसम्म गम्भीर आँधीकोे निगरानी कायम रहने जनाइएको छ । ३० मिलियन भन्दा बढी मानिसहरु यो चेतावनीको माताहतमा छन् । एटलान्टा, न्यूयोर्क, फिलाडेल्फिया र चार्लोटका विमानस्थलहरुमा आँधीबेहरीका कारण उडानहरु ढिलाइ वा रद्द हुनसक्ने जनाइएको छ ।
वाशिंगटन डीसी, बाल्टिमोर सहित नर्थ क्यारोलिना, भर्जिनिया र मेरील्याण्डका भागहरूमा बेलुका ११ बजेसम्म टोर्नाडोको चेतावनी प्रभावकारी रहेको छ । १६ मिलियन भन्दा बढी मानिसहरूको लागि यस्तो चेतावनी जारी गरिएको हो ।
आँधी र चर्को गर्मीको कारण अमेरिकामा ११० मिलियन भन्दा बढी मानिसहरू सोमबार खराब मौसमको जोखिममा छन् ।