बागमतीका स्वास्थ्य मन्त्रीद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

तु खबर संवाददाता
२०८१ जेष्ठ १५,मंगलवार ०८:५०
file-photo

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले मंगलबार एक सन्देश जारी गर्दै गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेका हुन् ।

मन्त्री श्रेष्ठले गणतन्त्र स्थापनाका लागि भएका जनआन्दोलन एवम् विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरे ।

नेपाली जनताको ठूलो संघर्ष, बलिदान र त्यागबाट आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उनको भनाई छ । संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्माण भएको संविधानले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रताको लक्ष्य राखेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संघीयताले दूरदराजका गाउँहरूमा राज्यबाट प्रदान गरिने सेवा सुविधा तथा शासन प्रशासनको प्रभावकारिता र पहुँच सुनिश्चित गरेको मन्त्री श्रेष्ठले बताए ।

संघीयताले समाजका हरेक तप्काका मानिसलाई सम्मानित जीवन दिने, राज्यको सेवा सुविधामा सहज पहुँच दिलाउने र निणर्य प्रक्रियामा सबैको सहभागिताको सुनिश्चितता गर्ने उद्देश्य बोकेको उनले बताए ।

संघीयतालाई सफल बनाउन सबै राजनीतिक दल लगायत सबै समुदायको महत्त्वपूर्ण भूमिका रहने उनको भनाई छ ।