नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र र वाद हुँदैन : पूर्वराजा ज्ञानेन्द्र शाह

तु खबर संवाददाता
२०८१ चैत्र ३०,आईतवार १८:२९

काठमाडौं । नयाँ बर्ष २०८२ को पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गरी नागरिक स्वतन्त्रता भन्दा ठुलो कुनै तन्त्र र वाद नहुने बताएका छन् ।

वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ, शाहले भनेका छन् ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ ।

उनले गत फागुन ७ गते पनि शुभकामना सन्देश जारी गरेका थिए ।

नयाँ बर्षको पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमा राजा ज्ञानेन्द्र शाहले स्पष्ट रुपमा संवैधानिक राजतन्त्रभित्र बहुदलीय शासन व्यवस्थासहितको नयाँ शासन व्यवस्थाको प्रस्ताव गरेका छन् ।

आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने समेत बताएका छन् । नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको पूर्व राजाको भनाइ छ ।

‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ,’ पूर्वराजा शाहले भनेका छन्,।