विषयगत समितिका नवनिर्वाचित सभापतिद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०८१ जेष्ठ ७,सोमबार १६:४८

मकवानपुर । बागमती प्रदेश सभा अन्तरगत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

हालै निर्वाचित भएका विषयगत समितिका सभापतिहरुलाई सोमबार एक कार्यक्रमबीच प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण गर्नेहरुमा क्रमशः प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, सार्वजिनक लेखा समितिका सभापति श्रीराम लामिछाने र शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल रहेका छन् ।

यसैगरी, अर्थ तथा विकास समितिका सभापति नुर बज्राचार्य, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ र विशेषाधिकार समितिकी सभापति मायादेवी शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

तीमध्ये छिरिङ र श्रीराम नेपाली कांग्रेस, ठाकुरप्रसाद नेकपा माओवादी केन्द्र, नुर राप्रपा, आनन्द नेकपा एमाले र मायादेवी नेकपा एकीकृत समाजवादीको तर्फबाट सभापतिमा निर्वाचित भएका थिए ।

यसअघि बागमती प्रदेश सभाको पहिलो कार्यकाल अन्तरगत पाँच वटा विषयगत समिति रहेको थियो । सर्वदलीय संयुक्त बैठकको निर्णय भएअनुसार केही दिनअघि विशेषाधिकार समिति गठन गरिएको र त्यसलाई प्रदेश सभाको बैठकले बहुमतले स्वीकृत प्रदान गरेको थियो ।

यससँगै प्रदेश सभा नियमावली अनुसार, बागमती प्रदेश सभा अन्तरगत ६ वटा विषयगत समिति रहने व्यवस्था गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बागमती प्रदेश सभाको बैठक स्थगित भएको घोषणा गरे ।