विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल

तु खबर संवाददाता
२०८१ जेष्ठ ६,आईतवार १८:१५

मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल भएको छ ।

सो बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल भएको हो । सो क्रममा प्रदेश सभाका सत्तापक्ष तथा प्रतिपक्षका सदस्यहरुले सरकारद्वारा प्रस्तुत गरिएको विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताको बारेमा सुझाव तथा सल्लाह दिएका थिए ।

उनीहरुले सरकारलाई भूगोल अनुसारको बजेट र योजना कार्यान्वयन गर्न सुझाव र दीगो कार्यान्वयन गर्न सल्लाह दिइएको थियो । उक्त बैठकमा प्रदेश सभाका सदस्यहरुले आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशको १३ वटै जिल्लाहरुमा भौतिक पूर्वाधारको विकास र कृषिलाई नयाँ प्रविधिबाट उत्पादन गरी बजारमा आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई माग गरेका थिए ।

बैठकमा दीर्घकालिन रुपमा वनजंगललाई डढेलोबाट जोगाउन नयाँ प्रविधिको सोच चिन्तनबाट विभिन्न उपकरणहरु खरिद गरी सम्बन्धित स्थानीय निकायमार्फत् डढेलो नियन्त्रणका लागि स्रोत साधन परिचालन गरिनुपर्नेमा उनीहरुको जोड थियो ।

त्यसैगरी, सिमान्तकृत समुदाय चेपाङ, दलित, आदिवासी जनजातीहरुको स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको लागि प्रत्यक्ष अवसर जुटाउने योजनाहरु तर्जूमा गरी कार्यान्वयनमा ल्याउन भगिरथ प्रयास गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै प्रदेश सभाका सदस्यहरुले घरेलु पर्यटन, वनस्पति र मौसमी जडिबुटीहरुको संरक्षण गरी बाह्य मुलुकबाट पनि पर्यटन भित्र्याउने कार्यलाई प्रोत्साहन गर्ने खालको आर्थिक कार्यक्रम ल्याउन सरकारलाई मार्गदर्शन गरेका थिए ।

प्रदेशमा भुगोल अनुसारको दीगो पूर्वाधार विकास, खानेपानी, सडक, विद्युत विस्तारको क्रममा योजना छनौट गर्दा दलगत स्वार्थभन्दा माथि उठेर सबै सांसदहरुको माग अनुसार स्थानीय निकायको सिफारिस बमोजिम योजना र बजेटको सिलिङ तोकि कार्यान्वयनमा ल्याउन उनीहरुले आग्रह गरे ।

साथै उनीहरुले विभिन्न वनजंगलमा सडीगलेका वन पैदावर काठहरुलाई सम्बन्धित निकायमार्फत् कानूनी प्रक्रिया पूरा गरी लिलामीमार्फत् राजश्व संकलन गर्न सुझाव दिएका थिए ।

प्रदेश सरकारले अब बागमती प्रदेशको उपयुक्त जिल्लामध्ये एक स्थानमा छनौट गरी जैविक मलखाद्यको कारखाना स्थापना गर्न गुरुयोजना तयार गरी आवश्यक बजेटको सिलिङ छुट्याउन सरकारलाई ध्यानाकर्षण गराइएका थिए ।

बागमती प्रदेश सभाको अर्को बैठक भोलि जेठ ७ गते विहान ११ बजे बस्नेगरी आजको बैठक स्थगित गरिएको थियो । भोलि बस्ने बैठकमा पनि विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने प्रदेश सभाका सचिवालयले जनाएको छ ।