आज चार वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकैदिन चार वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्ने भएको हो ।
जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, सोबारेमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो १ बजेविकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा आगामी बजेट २०८१–०८२ का सम्बन्धमा पूर्व बजेट छलफल हुनेछ ।
त्यस्तै, दिउँसो २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम÷ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ ।
