वेबसाइट डिजाइन र पत्रकारिता तालिम हुँदै

तु खबर संवाददाता
२०८० चैत्र २०, मंगलवार १५:०८

मकवानपुर । पोखरामा रहेको एक कम्पनीले वेबसाइट डिजाइनसँगै पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । लामो समयदेखि विभिन्न किसिमका वेबसाइट तथा सफ्टवेयर डिजाइनको तालिम दिँदै आइरहेको इकमर्श साथी प्रालिले तालिम दिन लागेको हो ।

१५ दिने तालिममा न्युज पोर्टल वेबसाइट डिजाइनको आधारभूत ज्ञानका साथै समाचार लेखनसम्बन्धी आधारभूत ज्ञान, समाचार प्रकाशनको तरिका, विज्ञापन डिजाइन, न्युज पोर्टलको सुरक्षा, अनलाइन पत्रकारिताका कानुनी पक्षलगायतको बारेमा आवश्यक सीप विकास गराइने इकमर्श साथी प्रालिका सञ्चालक विजय कुमालले जानकारी दिए ।

वेबसाइट डिजाइनका तालिम लिएका धेरैले न्युजपोर्टल सञ्चालन गर्न समाचार लेखन, विज्ञापन डिजाइन, वेबसाइट दर्ता तथा कानुनी प्रक्रियाकाबारेमा अन्यौलता रहेको पाइएपछि यसबारे पनि तालिम दिएर परिपक्व बनाउनु आवश्यक देखिकाले आफूहरुले तालिम सञ्चालन गर्न लागेको कुमालले बताए ।
कुमालका अनुसार १५ दिने तालिम चैत २९ गतेदेखि अनलाइनमार्फत सञ्चालन हुँदैछ । दैनिक बेलुकी ७ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने सशुल्क तालिममा

नेपालका चर्चित तथा अनुभवी पत्रकारहरुबाट आधारभूत समाचार लेखन तालिम प्रदान गरिनेछ भने सञ्चार माध्यम दर्ताको कानूनी प्रक्रियाका बारेमा पनि जानकारी र सहजीकरण गराइने जनाइएको छ ।