आजको मौसमः पहाडी भू–भागमा वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण केही प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेसमेत जनाइएको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
