यस्तो छ आजको मौसम पूर्वानुमान

तु खबर संवाददाता
२०८० चैत्र ८,बिहीबार ०८:१६
file-photo

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म वर्षाको सम्भावना रहेको जनाएको छ ।

बुधबार काठमाडौंमा दिनभर नै वर्षा भएको थियो । आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने नदेखिएको र तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिनभर आँशिकदेखि साधारणतया मौसम बदली रहने जनाइएको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरुमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।