नवोदयद्वारा शैक्षिक गुणस्तर वृद्धिका लागि अन्तरक्रिया
मकवानपुर । हेटौंडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले वडास्थित टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग आज अन्तरक्रिया गरेको छ ।
विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि अन्तरक्रिया गरी सहभागीहरुबाट रचनात्मक सुझाव संकलन गरिएको विद्यालयका माध्यमिक तह संयोजक सिएम रिमालले जानकारी दिए ।
छलफलका क्रममा, सहभागीहरुले विद्यालयको अथक मिहेनतका कारण बालबालिकाहरुको सर्वाङ्गिण विकासमा ठूलो सहयोग पुगेको बताए । नवोदयले समाजका प्रतिनिधिहरुलाई विद्यालयमा बोलाएर सल्लाह एवम् समन्वय गर्दै अघि बढ्नु एउटा नयाँ प्रयास भएको भन्दै उनीहरुले विद्यालयलाई अझै उत्कृष्ट बनाउन सुझावहरु दिए ।
नवोदयको शैक्षिक गुणस्तर अब्बल भएकाले बालबालिकाहरुलाई नवोदयमै पढाउने चाहाना भएका केही अभिभावकहरु आर्थिक अवस्थाका कारण समस्यामा पर्ने गरेको भन्दै सहभागीहरुले स्थानीय टोल विकास संस्थाको सिफारिसमा बालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्न जोड दिए ।
अन्तरक्रिया पश्चात् प्रतिक्रिया दिँदै माध्यमिक तह संयोजक रिमालले सहभागीहरुको सुझावलाई विद्यालयले गहन ढंगबाट कार्यान्वयनमा लैजाने बताए ।
सहभागीहरुले आजै विद्यालयको पुस्तकालय, कक्षाकोठा, विज्ञान प्रयोगशाला, खेल मैदान, भोजनालयलगायत विभिन्न क्षेत्रको अवलोकनसमेत गरेका छन् ।
नवोदयले यसअघि पनि विद्यालयको शैक्षिक गुणस्तर वृद्धि तथा बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि विभिन्न रचनात्मक प्रयास गर्दै आएको छ ।

