माओवादी र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति

तु खबर संवाददाता
२०८० चैत्र ३, शनिबार १६:०५

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको छ । शनिबार बसेको माओवादी र नेपाल समाजवादी पार्टी एकता संयोजन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको छ । साथै पार्टी एकताका लागि वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ ।

कार्यदलमा माओवादीका तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा रहेका छन् । कार्यदलमा नेपाल समाजवादी पार्टीका तर्फबाट सह–अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

एकता संयोजन समितिको बैठक माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बसेको हो ।

बैठकमा माओवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ र नेपाल समाजवादीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सह–अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश प्रसाद यादवको सहभागिता रहेको थियो ।