हेटौंडामा ४२ औं मगर दिवस मनाइयो

तु खबर संवाददाता
२०८० फाल्गुन १६,बुधबार १०:४९

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा ४२ औं मगर एकता दिवस भव्यताका साथ मनाइएको छ ।

मंगलबार नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बृहत साँस्कृतिक महोत्सव एवम् फुड फेस्टिवलको आयोजना गरी मगर स्थापना दिवस मनाएको हो ।

कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगरको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा बोल्दै मुख्यमन्त्री जम्कटेलले मगर समुदायको भाषा, भेषभूषा, संस्कृति संरक्षण र सम्वर्द्धनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रथम सहिद क्या. लखन थापा मगरलाई मगर समुदायले मात्र नभई आफुले पनि सम्झने बताए ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको नृत्य तथा गायन प्रस्तुत गरेका थिए । साथै सँस्कृति झल्काउने मगर पोषाक र प्रचलित बाजाहरु, मासको बारा, सुंगुर/बुंगुरको मासुको छोइला, सेलरोटीलगायत खानेकुारको पनि स्टल राखी प्रद्धर्शन गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी (छिन्तु), जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख ललितबहादुर घलान, विभिन्न वडाका अध्यक्ष, विभिन्न संघ–सस्थालाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।

आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको समुदाय मगर हो । मकवानपुर जिल्लामा १६ हजार भन्दा बढी मगर समुदायको बसोबास रहेका छन् ।