आज हेटौंडामा साँस्कृतिक महोत्सव तथा फुड फेस्टिवल हुँदै

तु खबर संवाददाता
२०८० फाल्गुन १५,मंगलवार ०८:४७

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज फागुन १५ गते बृहत साँस्कृतिक महोत्सव तथा फुड फेस्टिवल कार्यक्रम हुँदैछ । कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरले आयोजना गर्न लागिएको हो ।

मगर संघ मकवानपुरले ४२ औं मगर संघ स्थापना दिवसको अवसरमा उक्त साँस्कृतिक तथा फुड फेस्टिवलको आयोजना गर्न लागिएको हो । सो कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौरमा गर्न लागिएको मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगरले जानकारी दिए ।

उनका अनुसार, उक्त महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने कार्यसूची रहेको छ । उद्घाटन अघि हेटौंडाको बुद्ध चोकबाट मगर सँस्कृति झल्किने विविध झाँकीसहितको र्याली रहेको छ ।

कार्यक्रममा लोक कलाकारहरु अमृता लाङघेली मगर, हेमन्त आले मगर, हास्य कलाकार दिनेश काफ्ले, नृत्यकार शशि पुन मगरलगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।