हेटौंडाका विपन्न छात्रालाई जापानमा निःशुल्क अध्ययनको प्रबन्ध मिलाइने

तु खबर संवाददाता
२०८० फाल्गुन १३, आईतवार १४:३५

मकवानपुर । जापानको फुकोउकास्थित क्यूसु मेडिकल स्पोट्स भोकेशनल स्कुलले हेटौंडा उपमहानगरपालिकाका १९ जना छात्राहरुलाई जापानमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

जापानको उक्त विद्यालयले उपमहानगरको प्रत्येक वडाबाट एक जनाका दरले १९ जना विपन्न छात्रालाई सत प्रतिशत छात्रवृत्तिमा जापानमा अध्ययनको व्यवस्था मिलाउने भएको हो ।

आज सो विषयमा जापानस्थित उक्त विद्यालयका प्रमुख र उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँबीच छलफल भएको छ ।
छलफलमा स्कुलका समन्वयकारी भूमिकामा रहेका सागर सापकोटाले कक्षा १२ पास गरेका र आर्थिक रुपले विपन्न १९ जना छात्रालाई सत प्रतिशत छात्रवृत्ति दिएर केयर गिभरको कोर्ष अध्ययनको प्रबन्ध मिलाउने बताए ।

उनले भने, ‘हामी ३ वर्षे कोर्षको लागि निःशुल्क छात्रवृत्ति दिएर छात्राहरुलाई जापानमा अध्ययनको प्रबन्ध मिलाउँछौँ । जसले गर्दा उहाँहरुले आर्थिक अभावका कारण अध्ययन छाड्नुपर्ने अवस्था पनि रहँदैन । उहाँहरुले त्यहाँ विभिन्न ज्ञान सिप आर्जन गर्नुहुन्छ र उहाँहरु भविष्यमा पुनः नेपाल फर्किएर केही गर्न सक्ने दक्ष जनशक्ति बन्नुहुनेछ ।’

उनले त्यसका लागि उपमहानगरपालिकाले आर्थिक रुपमा विपन्न छात्राहरुको पहिचान गरी कम्तिमा पनि जापनिज भाषा अध्ययनको प्रबन्ध मिलाइदिनुपर्ने बताए ।

छलफल पश्चात् उपमेयर राजेश बानियाँले विपन्न छात्राहरुको लागि यो राम्रो अवसर भएको र उपमहानगरपालिकाले त्यसका लागि आवश्यक समन्वय गर्ने बताए ।