गणपूरक संख्या नपुगेपछि…
काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रवार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
गणपूरक संख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक संख्या यकिन गर्न माग गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले नेपालको संविधानको धारा ९४ बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको १ चौथाइ सदस्य उपस्थित हुनुपर्ने बताउँदै ३ मिनेट जनाउ घण्टी बजाई सो संख्या यकिन गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि सभामुख घिमिरेले बैठक स्थगितको घोषणा गरे ।
