आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा बैठक बस्न लागेको हो ।
आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० (मस्यौदा माथि) पेस तथा छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा आ.व २०७९–८० को वार्षिक प्रतिवेदन माथि छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको छ । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । यसैगरी, बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुने जनाइएको छ ।
यसैगरी, राष्ट्रिय सभा अन्तर्गतको समितिहरूमा बिहान ११ बजे दिगो विकास तथा सुशासन समितिको बैठक आह्वान गरिएको छ । सो बैठकमा नागढुंगा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, बिहान ११ बजे नै विधायन व्यवस्थापन समितिको बैठक पनि बस्ने भएको छ । बैठकमा स्थानीय तहको कानुन निर्माण प्रक्रियाको अध्ययनको मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।
यसैगरी, बिहान १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । सो बैठकमा सोर्हौ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुने जनाइएको छ ।
