राष्ट्रियसभा सदस्य निर्वाचनः हेटौंडामा मतदान प्रक्रिया सुरु

तु खबर संवाददाता
२०८० माघ ११, बिहीबार ०९:२८
तस्वीरः मतदान प्रक्रियामा सहभागी हुँदै नेमकिपाका सांसद सुरेन्द्रराज गोरसाई

मकवानपुर । राष्ट्रियसभा सदस्य निर्वाचनको बागमती प्रदेश तर्फको रिक्त ४ सदस्यका लागि मतदान सुरु भएको छ ।

हेटौंडाको भुटनदेवी स्कुल परिसरमा निर्वाचन तोकिएकै समयमा विहान ९ बजेबाट सुरु भएको हो ।

मतदान केन्द्रमा प्रदेशसभा सदस्यहरुका लागि र स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरुका लागि छुट्टाछुट्टै मतदानस्थलको प्रबन्ध मिलाइएको छ ।

मतदान आज दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान प्रक्रिया सकिएलगत्तै मतगणना गरी आजै बेलुका नतिजा सार्वजनिक गरिने बागमती प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए ।

मतदान प्रक्रियामा बागमती प्रदेश सभा सदस्यहरु ११० जना र ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३७ जना गरी कूल ३४७ जना सहभागी हुन पाउनेछन् ।