राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रबन्ध मिलाउन गृहलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोगले यही माघ ११ गते बिहीबार हुने उक्त निर्वाचनमा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन सो मन्त्रालयलाई निर्देशन दिएको हो ।
राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि २० सदस्य पद रिक्त हुँदैछन् । तीमध्ये १९ स्थानका लागि माघ ११ गते हुने निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गृह मन्त्रालयलाई निर्देशन दिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।
उनका अनुसार, निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसका आधारमा गृहलाई सो निर्देशन दिएको हो ।
निर्वाचनका लागि मकवानपुरसहित मोरङ, धनुषा, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भइसकेको सहायक प्रवक्ता पन्थीले बताए ।
