अन्तरपालिका फुटसल बिजेतालाई उपमहानगरको सम्मान

तु खबर संवाददाता
२०८० माघ ३,बुधबार १८:११

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा सम्पन्न अन्तरपालिका फुटसल प्रतियोगितामा बिजेता बनेको हेटौंडा उपमहानगरपालिकाका खेलाडीलाई सम्मान गरिएको छ ।

हेटौंडा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागी बनेका खेलाडीले जिल्लामा रहेका अन्य पालिकाहरुलाई पछि पार्दै उपाधि उचालेपछि उपमहानगरले उनीहरुलाई सम्मान गरेको हो ।

बुधबार उपमहानगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले बिजेता बनेका खेलाडीलाई खादा लगाउँदै सम्मान गरेका हुन् । मकवानपुरगढी खेलकुद विकास समितिको आयोजनामा भएको सहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे स्मृति दोश्रो अन्तरपालिका फुटसल प्रतियोगितामा आयोजकलाई पराजित गर्दै उपमहानगरले उपाधिमाथि कव्जा जमाएको थियो ।

आयोजक टिम खेलकुद विकास समितिलाई ७ –४ गोल अन्तरले पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधी उचालेको थियो । उपाधी सँगै हेटौंडाले १ लाख २५ हजार सहित शिल्ड प्रमाणपत्र प्राप्त गरेको थियो ।

उपमहानगरले गरेको खेलाडी सम्मानमा नगर प्रमुख लामाले खेल र खेलाडीको लागि लगानी गर्न तयार रहेको बताइन् । उनले नगरको नामलाई अघि ल्याउने खेलाडी गहना भएको भन्दै आगामि दिनमा पनि उपमहानगरको प्रतिनिधित्व गर्दै खेलहरुमा सहभागी हुन आग्रह गरिन् । नगरको खेलकुदको विकासका लागि बजेट छुट्याएर प्रतियोगिता सहित खेल मैदान र खेलाडि उत्पादनमा लगानी गरीरहेको बताइन् ।

सम्मान कार्यक्रममा उपप्रमुख बानियाँले खेल र खेलाडीको विकासका लागि उपमहानगर सधै तयार रहने बताए । उनले भौतिक विकासका लागि नेतृत्वले काम गरेपनि नगरको नामलाई चर्चामा ल्याउनका लागि खेलाडीको भूमिका महत्वपुर्ण हुने बताए । मकवानपुरगढीमा बिजेता बनेको टोली पोखरामा हुने राष्ट्रिय स्तरको फुटसल प्रतियोगितामा उपमहानगरको तर्फबाट सहभागी बन्ने भएको छ ।