वीपी विचार समाजको आयोजनामा विचार गोष्ठी
हेटौंडा । वी.पी विचार समाज मकवानपुरको आयोजना तथा नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ ।
सो अवसरमा गोष्ठीलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले विश्वेश्वरप्रसाद कोइराला आफ्नो दृष्टिकोणबाट कहिले पनि बिचलित नभएको नेताको रुपमा रहेको बताए । उनले वी.पी सत्य निष्ठा भएको नेता भन्दै प्रशंसा गरे ।
वी.पीको विचारलाई अनुशरण गर्न नजान्दा नेपालको राजनितिले इमोशन दिन नसकेको बताए । अब पुरानो शैलीकोे राजनैतिक नेतृत्वबाट देश अघि बढ्न नसक्ने भन्दै उनले पद र प्रतिष्ठाका लागि मात्र नेताहरुले लुछाचुँडी गरेको अवस्था देखिएको बताए । उनले देशको गति अघि बढाउन युवाहरुलाई आशा जगाउने कामहरु गर्नु पर्नेमा जोड दिए । युवाहरुलाई देश फर्कने वातावरण बनाउन उनले आग्रह गरे । उनले निर्वाचन प्रणालीमा केही परिवर्तन गर्दै जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्नेसमेत उल्लेख गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, नेकपा (एस) का केन्द्रीय सदस्य मुनु सिग्देल, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, वीपी विचार समाजका केन्द्रीय सदस्य लोकेश ढकाललगायतले आफ्ना विचार राखेका थिए ।
वीपी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको गोष्ठीमा नेपाली कांग्रेस मकवानपुरका महासमिति सदस्य उमा दाहाल, पुर्व सभापति माइकल रामचन्द्र अर्याल, कार्यबहाक सभापति धर्मराज लामिछाने, नेकपा (एस) मकवानपुर अध्यक्ष विष्णु दाहाल, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य प्रदिप कोइराला, जिल्लाका पूर्व कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने लगायत नेतागणहरुको आतिथ्यता रहेको थियो । समाजका सचिव हरिप्रपाद पौडेलले कार्यक्रम सहजिकरण गरेका थिए ।

