सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिन आह्वान गर्ने
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी गर्न आह्वान गर्ने निर्णय गरेको छ ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले पत्रिकामा सूचना निकालेर १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
गत मंसिर ५ गते सरकारले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको थियो । न्याय परिषद्बाट उनीहरूमाथि संसदीय सुनुवाइका लागि मंसिर ६ गते पत्र प्राप्त भएकोले सुनुवाइ प्रक्रिया थालनी भएको हो ।
सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस भएका छन् ।
