तिहारको समयमा मौसम सफा रहने

तु खबर संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १७:२७
file-photo

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारको समयमा मौसम सफा रहने जनाएको छ ।

महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जानकारी गराउँदै तिहारको समयमा मौसम सफा रहने जनाएको हो ।

आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली रही वर्षाको सम्भावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावले दुई दिन मौसम प्रतिकूल रहे पनि तिहारको समयमा सामान्यतया सफा रहने मौसमविद् अधिकारीको भनाई छ ।