स्थानीयले मागे मुआब्जा, अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युतगृहको काम ठप्प

तु खबर संवाददाता
२०८० आश्विन ३, बुधबार १६:५६

काठमाडौँ । सङ्खुवासभामा निर्माणाधीन अवस्थामा रहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युतगृहको काम ठप्प रहेको छ ।

अरुण तेस्रोे प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन सातादेखि काम ठप्प पारेका हुन् ।

स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत्गृहस्थल र प्रवेशमार्गको काम ठप्प भएको हो । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले सरकारले माग सुनुवाई नगरेपछि आन्दोलनमा आउनु परेको बताए ।

स्थानीयले प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा माग गर्दैआएका छन् ।

छ्याङकुटीबाट पुखुवासम्म ४ सय ५४ रोपनी जग्गाको मुआब्जा प्राप्त गर्न बाँकी छ । मुआब्जा रकम जिल्ला प्रसासन कार्यालयको खातामा नआएसम्म आन्दोलन जारी रहने पीडितको भनाइ छ । उनीहरु मुआब्जा माग गर्दै गएको सात वर्षदेखि आन्दोलित छन् ।