आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द रहने

मकवानपुर । आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने भएको छ । चिकित्सकमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै आइतबार आकस्मिक बाहेकका सबै सेवा बन्द हुने जानकारी गराएको हो ।
संघले जारी गरेको विज्ञप्ति अनुसार, आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गने हुने भएको हो ।
गत भदौ २७ गते बुधबार बागमती प्रदेशको राजधानी हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।
संघले उक्त प्रकरणका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोप लगाउँदै सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ ।
साथै भावी दिनमा यस्ता प्रकारका घटनामा मौनता नसाध्ने गरी लिखित प्रतिबद्धता समेत जनाउन माग गरेको छ । गत साउन २५ गते डेंगू संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने ४२ वर्षीय राजेश प्रधानको मृत्यु भएको थियो ।
साउन २२ गते उपचारको लागि सन्चो अस्पताल ल्याएका उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालले साउन २३ गते चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
राजेशको उपचारमा लापरबाही भएको भन्दै बुधबार उनका आफन्तसहितको एक समूहले अस्पतालमै पुगेर चिकित्सकमाथि सामूहिक हातपात गरेका थिए ।
यद्यपी, प्रहरीले उक्त घटनामा संलग्न चार जनालाई बिहीबार नै नियन्त्रणमा लिएको छ । प्रहरीले मृतक राजेशको श्रीमती, छोरी, छोरा र भतिजलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ परेका उनीहरुलाई शुक्रबार ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिरहेको जनाएको छ ।