हेटौंडा चिकित्सक कुटपिट प्रकरण : थप एक जना पक्राउ
मकवानपुर । चिकित्सक कुटपिट प्रकरणमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिन रहेका छन् ।
उनलाई बुधबार साँझ ५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ सिमेन्ट रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
डेंगू संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको केहि युवाको समूहले गत भदौ २७ गते हेटौंडा–१ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए ।
पाख्रिनसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ । यसअघि मृतक राजेशका श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अमित प्रधानलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
