सन्चो अस्पतालको घटनामा संलग्न चार जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र २८,बिहीबार १५:४६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको घटनामा संलग्न रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार उक्त अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको घटनामा संलग्न चार जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

गत साउन २५ गते डेंगू संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने ४२ वर्षीय राजेश प्रधानको मृत्यु भएको थियो । साउन २२ गते उपचारको लागि सन्चो अस्पताल ल्याएका उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालले साउन २३ गते चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

राजेशको उपचारमा लापरबाही भएको भन्दै बुधबार उनका आफन्तसहितको एक समूहले अस्पतालमै पुगेर डाक्टरमाथि सामूहिक हातपात परेका थिए । सोही घटनामा संलग्न रहेकामध्ये चार जनालाई अनुसन्धानका लागि पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक भण्डारीले तु खबरलाई बताए ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् । पक्राउ परेकी रमा मृतक राजेशको श्रीमती हुन् भने रमिला मृतकको छोरी, रोहन छोरा र अनुप भतिज हुन् ।

प्रहरीले रमा र रमिलालाई बिहीबार बिहान घरबाटै पक्राउ गरिएको हो भने १९ वर्षीय रोहन र २५ वर्षीय अनुपलाई बिहीबार दिउँसो हेटौंडा–१० बाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको छ भने उक्त घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।