मकवानपुरमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प

तु खबर संवाददाता
२०८० भाद्र २९,शुक्रबार ०९:२८

मकवानपुर । मकवानपुरका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् ।

चिकित्सक कुटपिटको घटनाको विरोधमा जिल्लाको हेटौंडा अस्पतालसहित सरकारी तथा निजी स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सकहरूले  आन्दोलन गरेपछि आकस्मिक बाहेक सबै सेवा बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।

उनका अनुसार, हेटौंडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा संचालनमा रहेको छ भने ओपिडी, बिरामी भर्न, ल्याब लगायतका सेवा बन्द रहेको छ ।

जिल्लाको अन्य अस्पताल तथा क्लिनिकहरुमा पनि आकस्मिक र फार्मेसी सेवा मात्रै संचालनमा रहेको उनले बताए । गत बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

गत साउन २५ गते डेंगू संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने ४२ वर्षीय राजेश प्रधानको मृत्यु भएको थियो । साउन २२ गते उपचारको लागि सन्चो अस्पताल ल्याएका उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि अस्पतालले साउन २३ गते चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा रिफर गरिएको र उनको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

राजेशको उपचारमा लापरबाही भएको भन्दै बुधबार उनका आफन्तसहितको एक समूहले अस्पतालमै पुगेर डाक्टरमाथि सामूहिक हातपात गरेका थिए ।