बुधबारको लागि आह्वान गरिएको प्रतिनिधि सभा बैठक सर्यो
काठमाडौं । भदौ २७ गते बुधबारका लागि आह्वान गरिएको प्रतिनिधि सभा बैठक सरेको छ । बैठक भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बस्ने गरी सरेको संघीय संसद् सचिवालयले जनाएको छ ।
संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनका कारण बुधबारका लागि तय भएको बैठक बिहीबार बस्ने गरी सारिएको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
गौतमले एक सूचना जारी गर्दै बैठक बस्ने दिन र समय परिवर्तन भएको जानकारी गराएका हुन् । बिहीबार बस्ने प्रतिनिधि सभा बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछ ।
