कृषि समितिको सभापतिमा आरजु राणाले दिइन् उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । उनले आइतबार संघीय संसद सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।
प्रमुख दहरुले प्रतिनिधि सभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।
कांग्रेसले पाएका ४ वटा समितिमध्ये आइतबार दिउँसो २ जनाले मात्र उम्मेदवारी दर्ता गराएका हुन् । संसदीय सुनुवाइ समिति र अर्थ समितिमा कांग्रेसले अहिलेसम्म उम्मेदवारी दिएको छैन ।
