विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख दिइने
काठमाडौँ । बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका श्रमिकको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।
यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो । सरकारले ३ लाख थप गरी अब १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको हो ।
यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बोर्डले यसअघि दिँदै आएको आर्थिक सहायता तथा छात्रवृत्ति ज्यादै न्यून भएका कारण बढाइएको जनाएको छ ।
यस्तो सहायता २०६५ देखि मृतकका आफन्त तथा अंगभंग भएका श्रमिकलाई दिन थालिएको हो । सुरुमा आर्थिक सहायता स्वरूप मृतकका परिवारलाई तीन लाख रूपैयाँ दिने गरिएको थियो । आर्थिक वर्ष २०७४⁄७५ देखि बढाएर ७ लाख पु¥याइएको थियो ।
कतिपय अंगभंग भएर समेत फर्कने गरेका छन्। पछिल्लो तथ्यांक हेर्दा वार्षिक एक हजारभन्दा धेरैले विभिन्न मुलुकमा ज्यान गुमाउने गरेका छन् । पाँच सयको हाराहारीमा अंगभंग भएर फर्कनु परेको अवस्था छ ।
