सभामुख घिमिरेको आह्वानमा शीर्ष तीन दलका नेताबीच छलफल जारी

तु खबर संवाददाता
२०८० श्रावण २२, सोमबार १३:५९
file-photo

काठमाडौँ । संसदको गतिरोध हटाउनका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका नेताहरुको बैठक भइरहेको छ ।

सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीन दलका प्रमुख सचेतक तथा सचेतक सहभागी रहेका छन् ।

साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अबरुद्ध गरेको थियो । एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएका थिए ।

सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेका थिए । प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरेको सभामुखको सचिवालयले जनाएको छ ।