आज अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवस मनाइँदै
काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव बेचविखनविरुद्धको दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यो दिवसले मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने भन्दै नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनै रुपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।
मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् ।
यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घअन्तर्गतको लागुऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ । सन् २०२० मा मानवबेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मावबेचविखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो ।
