गगन थापाले तिरे निर्वाचन आयोगलाई जरिवाना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधि सभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् ।
निर्वाचन आयोगले चुनाव खर्च विवरण बुझाएर सार्वजनिक नगरेको भन्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार जरिवाना तोकेको थियो ।
थापाले सामाजिक सञ्जालमार्फत आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराएका हुन् ।
आफूले आयोगमा २०७९ मंसिर २५ गते नै खर्च विवरण बुझाएको र त्यो विवरण सार्वजनिक पनि गरेको तर, सार्वजनिक गरेको जानकारी आयोगलाई गराउनुपर्छ भन्ने थाहा नभएको थापाले बताएका छन् ।
