कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर

तु खबर संवाददाता
२०८० श्रावण ११, बिहीबार १७:१८

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार न्यायाधीशहरु क्रमशः ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदरको आदेश दिएको हो ।

गत असार २१ मा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

तर, नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै गत असार २२ मा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको थियो ।