खर्च विवरण सार्वजनिक नगर्ने २५ सय उम्मेदवारलाई कारबाही

तु खबर संवाददाता
२०८० श्रावण ९, मंगलवार ०८:२२

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने झण्डै २५ सय उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च विवरण सार्वजिनक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको हो ।

जसमा एक हजार ४३ जना प्रतिनिधि सभा सदस्य पदका र एक हजार ३९७ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका छन् ।

कानून बमोजिम खर्च विवरण सार्वजनिक नगर्ने प्रत्येक उम्मेदवारले १५ हजार रुपियाँ जरिबाना तिर्नुपर्ने छ । तर, त्यसका लागि आयोगले निर्णय गर्नुपर्ने छ ।

खर्च विवरण सार्वजनिक नगर्नेमा निर्वाचित जनप्रतिनिधि तथा प्रमुख राजनीतिक दलका पदाधिकारी तथा चर्चित अनुहारसमेत प्रशस्त रहेको आयोग स्रोतले बतायो ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको थियो । जसमा प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ दुई हजार ४११ जना उम्मेदवार थिए ।

यस्तै, प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ तीन हजार २२४ गरी कुल पाँच हजार ६३५ जना उम्मेदवार थिए ।