बकैया–५ का ११ घरपरिवारलाई लालपूर्जा वितरण

तु खबर संवाददाता
२०८० श्रावण ७, आईतवार ०८:५१
file-photo

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ का ११ घरपरिवारलाई जग्गाधनी पूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।

शनिबार बकैया–५ को राजदमारस्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गरेका हुन् ।

पूर्जा प्राप्त गर्नेहरुमा बकैया–५का शुक्रबहादुर बुलुन, निरमाया भुलुन, फुलमाया भुलुन, सुवास कुमार विक, शुसिला विश्वकर्मा, बाबुलाल थिङ, कमलबहादुर थिङ, हस्तबहादुर थिङ र लक्ष्मण थिङ रहेका छन् । उनीहरुले ३४० वर्ग मिटर क्षेत्रफलको जग्गा पूर्जा प्राप्त गरेका हुन् ।

यसैगरी, कान्छीमाया पुलामीले ३३८.२७२ वर्गमिटर र विनोद वाईवाले १५०.५२ वर्गमिटर क्षेत्रफलको जग्गा प्राप्त गरेको राष्ट्रिय भूमि आयोग मकवानपुरले जनाएको छ ।

आयोगको गत असार १३ गतेको निर्णय अनुसार उनीहरुलाई लालपूर्जा वितरण गरिएको भएको । वडामा लगत संकलन भएका ६४ घरपरिवारमध्ये ११ घरपरिवारले मात्रै पूर्जा प्राप्त गरेको र बाँकीको प्रकियामा रहेको वडा कार्यालयले जनाएको छ ।