कांग्रेस केन्द्रीय समितिको बैठक आजदेखि
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जनाएको छ ।
उनका अनुसार, सो बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुनेछ ।
त्यसअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक बस्ने छ । देउवाले बिहान ९ बजे बस्ने गरी शीर्ष नेताहरुको बैठक आह्वान गरेका हुन् ।
शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
