कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

तु खबर संवाददाता
२०८० असार २०, बुधबार १५:४५

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । बुधवार मध्यान्ह कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा बसेको ‘बिग फाइभ’ पदाधिकारीको बैठकले केन्द्रीय बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने आह्वान गरिएको कांग्रेसका कार्यबाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।

कांग्रेसले करिब एक वर्षपछि बैठक बोलाएको छ । आजको सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच भएको छलफलले भोलि बोलाइएको जिल्ला सभापतिको भेलाको एजेण्डा तय गरेका छ ।

पराजुलीका अनुसार, पार्टीको सांगठनिक काम कारबाही सम्बन्धी विभिन्न विषयमा कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल हुने भएको छ । उनले जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफल हुने बताए ।

कांग्रेसले अनलाइनबाटै नयाँ सदस्य लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ । क्रियाशील सदस्यतासम्बन्धी कार्ड पनि जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।