आगामी निर्वाचनमा कांग्रेसले कसैसँग सम्झौता गर्दैन : गगन थापा

तु खबर संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार ०८:०७

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कांग्रसले कुनै पनि पार्टीसँग सम्झौता नगर्ने बताएका छन् । कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र २ र प्रदेश सभा २ (ख) को आयोजनामा सोमबार हेटौंडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस विचार प्रधान पार्टी भएकाले सत्ताका लागि कसैसँग सम्झौता नगर्ने बताएका हुन् ।

चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रति गलत धारणा बनेको भन्दै उनले बरु सरकार छोड्नुपरे छोड्ने तर, कांग्रेसको लागि विचार र सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै  त्यसलाई स्थापित गरिनुपर्नेमा जोड दिए ।

‘चुनावको अगाडि अर्काे पार्टीको पक्षमा मत माग्ने कुराले प्रकारान्तरमा त्यसले पार्टीप्रतिको विश्वास डगमगाउने अवस्था बन्दो रहेछ ।’ उनले भने, ‘अब कांग्रेसको जिवनमा बरु ५ पटक चुनाव हारे हारिन्छ, वडादेखि केन्द्रसम्म, राष्ट्रपतिदेखि प्रधानमन्त्रीको चुनावमा जस्तोसुकै अपठेरो परे पनि, नेपालको तमाम् पार्टी मिलेर एउटै पार्टी बनाए पनि कांग्रेसले तालमेल गर्दैन ।’

आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै कांग्रेसले जनताको निराशालाई चिर्ने थापाले प्रतिवद्धता जनाए । कांग्रेस सक्किएर होइन सच्चिएर र परिवर्तन भएर अघि बढ्नुपर्ने भन्दै उनले भने –‘कमजोर कांग्रेसको महामन्त्री हुनुभन्दा बलियो कांग्रेसको साधारण सदस्य मञ्जुर छ तर, कांग्रेस सच्चिएर जान जरुरी छ ।’

यस्तै, कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताको हितमा लाग्नुको विकल्प नभएको बताए । नागरिकमा छाएको निराशा चिर्न काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो ।

मकवानपुर क्षेत्र नम्बर २ का सभापति लोक मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, चितवन क्षेत्र नम्बर १ का सभापति किरण वली, महासमिति सदस्य राजकुमार मल्ल, राजेश भेटवमल, मकवानपुर १ (क) का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर २(ख) का सभापति रन्जन कालाखेती, थाहा नगर सभापति प्रमोद जोशी, मनहरी ८ का सभापति भिमसेन लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।