संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० जेष्ठ २२, सोमबार ०८:५१
file-photo

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएको दुबै सदनको बैठक आज बस्ने भएको हो ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराह्न १ बजेपछि बस्ने भएको हो ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।

बैठक संचालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर सोमबारसम्मका लागि बैठक सारिएको थियो ।

यस्तै, आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेका थिए ।

आइतबार नै बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा पूर्व प्रतिनिधि सभा सदस्य एवम् पूर्व राज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको थियो ।