‘कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न सक्दैनन्’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने बताएका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।
उनले जनताले वर्तमान नेतृत्वको विकल्प खोजेको बताए । तर कांग्रेस र कम्युनिस्टले अवलम्बन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्बन गरेको निरन्तरता सहितको परिर्वतन नभएको दाबी गरे ।
वैचारिक र व्यवहारिक दुबै दृष्टिले राप्रपाबाहेक अरू कुनै पार्टी कांग्रेस र कम्युनिस्टको विकल्प बन्न सक्ने सम्भावना नै नभएको उनको भनाई छ ।
अध्यक्ष लिङ्देनले प्रतिवेदनमा भनेका छन्, ‘कम्युनिष्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ र त्यसको नेतृत्व राप्रपाले मात्र गर्न सक्छ, यो वास्तविकता हो, धरातलीय यथार्थ हो ।’
उनले देश र राजनीति दुई कित्तामा बाँडिएको उल्लेख गर्दै देशको सबैभन्दा जेठोदेखि सबैभन्दा कान्छा दल एकै कित्तामा उभिएको स्पष्ट पारे ।
