कांग्रेस मनहरीको गाउँपालिकास्तरीय सम्मेलन सम्पन्न
मकवानपुर । नेपाली कांग्रेसको वडा, गाउँपालिका, प्रदेश र जिल्ला सम्मेलन गर्ने केन्द्रीय परिपत्र अनुरुप मनहरी गाउँपालिकास्तरीय सम्मेलन शुक्रबार मनहरी बजारमा सम्पन्न भएको छ ।
कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा पालिकास्तरीय सम्मेलन गरिएको हो ।
सभापति बानियाँले देशमा चाहिने भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएर खर्चालु बनेको संघीयताले जनतामा चरम निराशा छाएको बताउँदै पार्टीको विधान र देशको संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचन प्रणालीमा जान आवश्यक रहेको बताए ।
मुलुकको हरेक परिवर्तनमा कांग्रेसको भूमिका अतुलनीय रहेको बताउँदै नेता बानियाँले कांग्रेसबाट जितेका जनप्रतिनिधिहरुले जनताको विकास निर्माणमा दृढ भएर लाग्न निर्देशन दिंदै नगरे जनताले खबरदारी गर्नुपर्ने बताए ।
नेता बानियाँले विगतमा भएको कमीकमजोरीको समीक्षा गर्दै कांग्रेसले आफूले गरेको विकासनिर्माण र समाज रुपान्तरणमा खेलेको भूमिका बारे जनतामा बुझाउँदै संगठन विस्तारमा लाग्न निर्देशन दिए ।
कार्यक्रममा विशेष अतिथि कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामा, कांग्रेस बागमती प्रदेश सदस्यद्वय जानकी लामा र सन्तबहादुर चेपाङ, कांग्रेस मकवानपुरका जिल्ला सदस्य चन्द्रबहादुर न्यौपाने, कांग्रेस मकवानपुर २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, महाधिवेशन प्रतिनिधिद्वय ठाकुर तितुङ र शंकर न्यौपाने, कांग्रेस मनहरी गापा सचिव हरिचन्द्र शाही ठकुरी, नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष पूर्णबहादुर चेपाङ, लोकतान्त्रिक जनजाति संघका अध्यक्ष पदम तितुङ, कांग्रेस मनहरी १ का सभापति मनोहरी उप्रेती, पुराना नेता खुलबहादुर नगरकोटीलगायतले पार्टीमा उठेका गुनासा, पार्टी सुदृढीकरण, निर्वाचनपछि पार्टीको अवस्था र भावी रणनीतिका बारेमा आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मनहरी शाखाका नवनिर्वाचित सभापति मोहन कार्कीलाई सम्मान गरिएको थियो ।
