७ दिनभित्र लेखापरीक्षण सार्वजनिक गर्न ८२ दललाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले ८२ वटा राजनीतिक दललाई आर्थिक वर्ष ०७८/०७९ को लेखा परीक्षण सात दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आर्थिक आवको लेखा परीक्षण सार्वजनिक गर्न निर्देशन दिएको हो ।
आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुले आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षणको प्रतिवेदन पेश गर्नुपर्ने कानूनी व्यवस्थाको स्मरण समेत गराएको छ ।
आयोगको बैशाख २७ गते बसेको बैठकले यस्तो निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् । आयोग प्रवक्ता पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘आर्थिक वर्ष २०७८÷०८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेस गर्ने ८२ राजनीतिक दललाई आयोगमा पेस गरेको लेखापरीक्षण प्रतिवेदन सात दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम, सामाजिक सञ्जालका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले सात दिनभित्र सोको जानकारी आयोगमा गराउन निर्देशन दिएको छ ।’
