२०७९ का ‘झरना’मा मकवानपुर बाहिरका सिर्जना–२

सञ्जय साह मित्र
२०७९ चैत्र ३०,बिहीबार २१:०८

मकवानपुरे साहित्यकाशको एक ताराको रुपमा निरन्तर चम्किइरहने नक्षत्र हो झरना । झरनालाई साहित्यिक पत्रकारिताको अग्रणी पत्रिका पनि भन्न सकिन्छ । मकवानपुरमा झरना भन्दा पुराना नियमित साहित्यिक पत्रिकाको खोजी गरिनुपर्छ । यद्यपि यो निरन्तरतामा निकै सुस्तता छ । यद्यपि सुस्ततामा पनि गतिशीलता छ । यही गतिशीलताले यसलाई ३९ औँ अंकसम्म प्रकाशनमा ल्याइपुर्याएको हो । झरनाले ३० वर्षको प्रकाशनको यात्रा तय गरेको छ । यो निकै लामो इतिहास हो । यत्तिको लामो इतिहास बोकेको पत्रिकाले आफ्नै गरिमाको गोरेटो कोरेको छ । यसलाई पनि उपलब्धि नै मान्नु उचित हुन्छ । झरना आफैँमा एउटा उपलब्धि हो ।

झरनाले मकवानपुरका रचनालाई प्राथमिकता दिँदै आएको छ तर पनि मकवानपुर बाहिरका रचना पर्याप्त सङ्ख्यामा प्रकाशित गर्ने गरेको छ । झरनाको ३९ औँ अङ्कमा लीलाराज दाहालको कथा, पवित्रा तिमल्सिनाको मुक्तक, खडानन्द तिमल्सिनाको गजल, राजीव बोलखेको कविता, मिलन समीरको कविता, निर्मोही व्यासको नियात्रा, सम्प्रस पौडेलको कविता, सुवास सजलको मुक्तक, शिव घिमिरेको कविता, सुजया पौडेलको कविता, सुरज खड्काको गजल, सुमित्रा सुमीको गजल, स्वस्तिका दाहालको कविता, सञ्जय साह मित्रको संस्मरण, उद्धवप्रसाद सापकोटाको कृति समीक्षा, निमिशा निरौलाको कविता, वसिस्ता घिमिरेको गजल र मनिका नेगीका मुक्तकहरू प्रकाशित छन् । यसरी झरना ३९ मा कविता, मुक्तक, गजल, कथा, नियात्रा, संस्मरण, कृति समीक्षा आदि विधा–उप विधाका रचना प्रकाशित भएका छन् । झरना ३९ मा प्रकाशित रचनाहरुको अन्त्यमा दिइएको ठेगानाको आधारमा मकवानपुर जिल्ला बाहिरका रचनाकारका सिर्जनाहरुको यहाँ सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

लीलाराज दाहाल बागमती, सर्लाहीका सर्जक हुन् । दाहालको कथा गणतन्त्रको घाममा देशमा व्यवस्था फेरिए पनि विपन्न र दलितको अवस्था भने नफेरिएको व्यथा प्रस्तुत गरिएको छ । यो आशावादी कथा हो । एक दिन पक्कै साना मान्छेको झुपडीमा पनि खुशीको दियालो बल्नेछ भन्ने बीज वाक्यले यस कथाको आशावादितालाई प्रष्ट पारेको छ ।

पवित्रा तिमल्सिना तीनपाटन ६, सिन्धुलीका सर्जक हुन् । तिमल्सिनाको तीन मुक्तक प्रकाशित छन् । तिमल्सिनाको पहिलो मुक्तकमा सन्तोष र खुशीको प्रसङ्ग छ भने दोस्रो तथा तेस्रो मुक्तकमा असन्तोष र धोकाको विषयवस्तु छन् । स्वार्थी प्रवृत्ति माथि प्रहार गरिएको छ दुई मुक्तकमा । एक उदाहरण:
बोकेर स्वार्थ नजिक सर्नेसँग डर लाग्छ
शत्रुभन्दा आफन्तै पर्नेसँग डर लाग्छ
प्रेमले रुवाउँदैन, प्रेम गर्नेले रुन बाध्य गराउँछ
मलाई प्रेमसँग है, प्रेम गर्नेसँग डर लाग्छ ।

सिन्धुलीकै खडानन्द तिमल्सिनाको छ सेरको गजल प्रकाशित छ । उज्यालो चेतनाको भावबोक्ने यस गजलका हरेक सेरमा आशावादिता र प्रगतिशीलता पाउन सकिन्छ । गजलको शास्त्रीय मान्यता कुनै पनि सेरमा रहेको छैन । असल काम गर्नुपर्ने, सङ्घर्ष गर्नुपर्ने सन्देश यस गजलमा दिइएको छ, यथा:
चुनौतीलाई अवसरमा ढाल्न सक्नुपर्छ
असल सोच विचारहरू पाल्न सक्नुपर्छ ।

करादीखोला, स्याङ्जाकामिलन समीरको कविता यतिबेलामा राजनैतिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ ।
शार्दूल विक्रीडित छन्दमा लेखिएको शिव घिमिरेको पुकार शीर्षक कवितालाई सन्तान भएर घरबाट लखेटिएका आमाहरूप्रति समर्पित भनिएको छ । ललितपुरका घिमिरेको यस कवितामा सन्तान जन्मिँदा आमाको मनमा हुने खुशी र सन्तान सँगै देखिने भविष्य, सन्तान पाल्न आमाले गर्ने सङ्घर्ष र त्यागका साथै जब सन्तानले घरबाट निकाल्छ तथा बाटो हिँड्दा पनि नदेखेझैँ गरी हिँड्छ तब मनमा हुने पीडाको सुन्दर प्रस्तुति गरिएको छ:

सोधेनौ कहिल्यै, कुनै दिनकतै, के भो कसो भो भनी ?
बेल्दैनौ, किनभो किलाजअहिले ! बस्दै छु तारा गनी
एक्लै रुन्छु, कराउँछु घरघडी ! बाबू कहाँ छौ तिमी
सुन्दैनौ नजिकै भएपनितिमी, रोए कराए पनि ।

नुवाकोटकी सुमित्रा सुमीको पाँच सेरको गजलशास्त्रीय मान्यतामा रचित छ । विप्रलम्भर संयोग दुवै शृङ्गार छन् यस गजलमा ।

यद्यपि वार्तालापको भावको अभाव छ । एक सेर:
उता प्रेमी बचाएको यता प्रेमी छ मारेको
अनेकौँ भावजो आफैँ सजाएको छ मायाले ।
मित्रनगर गरुडा ४, रौतहटका सञ्जय साह मित्रको संस्मरण काशी, वाराणसी र बनारसमा प्रसिद्ध भारतको प्रसिद्ध धार्मिक नगरी काशीको तीन नाम प्रचलनमा रहेको र कसरी तीन ओटा नाम प्रचलनमा आयो भन्ने सन्दर्भ कोट्याइएको छ । सरस्वती प्रतिमा किन्न गएको यात्रामा काशीमा देखे भोगेका कुरा यथार्थपरक र रोचक तरिकाले प्रस्तुत गरिएको यो संस्मरण जानकारीमूलक छ ।

मकवानपुरको साहित्यपुष्पलाई अझपुष्पित, सुरभित र शोभायमान बनाउन झरनाको विशिष्ट योगदान रहेको छ । आफैँमा एउटा स्थापित सुनाम बनिसकेको झरना साहित्यिक त्रैमासिकमा प्रकाशित सबै रचनाको अन्त्यमा एकै किसिमले रचनाकारको ठेगाना उल्लेख गरिएको पाइँदैन । रचनाकारले आफ्नो ठेगाना दिने र नदिने स्वतन्त्रताको उपयोगमा झरनाले सहृदय सम्मान गरेको हुन सक्छ ।

झरना ३९ एउटा पठनीय अङ्क रहेको छ । आउँदा दिनमा निर्झर झरनाले अझ स्तरीय सिर्जनाहरू प्रकाशित गर्दै जाओस् भन्ने अपेक्षा पनि रहेको छ । मकवानपु6रे साहित्यको एउटा प्रतिनिधि साहित्यिक पत्रिका झरनाको ३९औँ अङ्कले आफ्नो गरिमालाई बचाइराख्न सफल भएको छ ।

पत्रिकाका संरक्षक वासुदेव खनाल/सम्झना आचार्य, सल्लाहकार डा. घनश्याम परिश्रमी, रमेशमोहन अधिकारी, उद्धव सापकोटा, जनार्दन खनाल, परशुराम गौतम, नारायण चापागाइँ, भरत सापकोटा, सम्पादक विश्वनाथ सञ्जेल, व्यवस्थापक गायत्री रुपाखेती, सन्तराम राई, अमृता लामिछानेसहित सम्पूर्ण परिवार साधुवादका पात्र छन् । झरना साहित्यिक परिवार मकवानपुरले झरना साहित्यिक अर्धवार्षिक पत्रिकाको प्रकाशनमार्फत पनि आफ्नो नाम र गरिमालाई फैलाइरहन सफल भएको देखिन्छ ।